काठमाडौं– राजधानी उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएका छन् ।

बन्द गरिएका सेवामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल लगायत छन् । त्यस्तै सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकलको पालना गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न भनिएको छ ।

त्यस्तै, अत्यावश्यक सामग्री बोकेका ढुवानी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन काठमाडौं उपत्यकाभित्र प्रवेशमा रोक लगाइएको विज्ञप्तिमा छ ।

अत्यावश्यक सेवामा एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दूरसञ्चार, इन्टरनेट लगायत सेवा सञ्चालन हुनेछन्

विज्ञप्तिमा संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र सार्वजनिक यातायात बन्द गरिएको जनाइएको छ । उक्त आदेश उल्लंघन गरे प्रचलित कानुन अनुसार कारवाही हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय