काठमाडौं– चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ ।

उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र मंगलबार अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वय बमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउन लागिएको जानकारी दिए । उनले आजको उडानमा २० थान भेन्टिलेटर ल्याउने भनिए पनि अहिलेसम्म १० थान मात्रै भेन्टिलेटर निगमसँग अपडेट भएको बताइन् ।

अहिलेको विपद्को अवस्थामा सरकारबाट निर्देशन भएमा कुनै पनि बेला अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको प्रवक्ता श्रेष्ठले बताइन् । चीनले २० हजार अक्सिजन सिलिन्डर अनुदानमा दिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय