
काठमाडौं– संसदमा प्रतिपक्षी दलहरुको गठबन्धन र एमालेकै ओलीविरोधी खेमाले प्रधानमत्री ओली र राष्ट्रपति विद्या भण्डारीको कदमलाई असंवैधानिक भन्दै त्यसलाई राजनीतिक र कानुनी दुवै मोर्चाबाट चुनौती दिने जनाएका छन् ।
नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राजमोका अध्यक्ष दुर्गा पौडेलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी कदमले मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको विज्ञप्तिमा उल्लेख छ ।
‘प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको हामी घोर भर्त्सना गर्दछौं,’ संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी रुपमा सशक्त रुपमा प्रतिवाद गर्न हामी कटिबद्ध छौं ।’