काठमाडौं– नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणबाट मुक्तिका लागि यही जेठ १२ गतेदेखि १५ दिने हिमालयन सिद्ध महायोग अनुष्ठान आयोजना गरिने भएको छ ।

जगद्गुरु रामानन्दाचार्य सेवा पीठ र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले शनिबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्रियाबाट घरमै बसेर कोरोनाको असर न्यूनीकरण गर्ने उपाय सिकाउन अनुष्ठान आयोजना गरिएको जानकारी दिइयो । कार्यक्रममा महायोगी सिद्धबाबाले साधनाका लागि निःशुल्क प्रशिक्षक प्रशिक्षण दिन लागिएको बताए ।

सात्विक आहार र यौगिक दिनचर्याले एकान्तवासमा रहेर १५ दिन साधना गरेपछि कोरोना जस्ता भाइरसबाट मुक्त भइने उनको दाबी छ । १५ दिनसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म साधनाको कार्यक्रम राखिएको जनाइएको छ । प्राचीनकालमा वन जंगलमा बसी ऋषिमुनिले अध्ययन अनुसन्धानबाट मानव जीवनका लागि उपयुक्त भनी सुरु भएका पद्धतिबाट अहिलेको महामारीको अन्त्य गर्न सकिने महायोगीको भनाइ छ ।

कार्यक्रममा पीठका अध्यक्ष गणेश सुब्बा, प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डित, पीठका उपाध्यक्ष गोविन्दबाबु तिवारी लगायतले कोरोनाबाट बच्न प्राकृतिक, आयुर्वेदिक र सात्विक जीवनचर्यामै फर्कनुपर्ने भएकाले पहिलो चरणमा यो कार्यक्रम सुरु गरिएको जानकारी दिए । यो कार्यक्रमलाई निरन्तरता दिइने पनि सो अवसरमा जानकारी गराइएको थियो ।

पीठले कोरोनाको यौगिक उपचार पद्धति, दिनाचार्य, भोजनाचार्य र आत्मसंयमका अवधारणा सहितका कार्यक्रम पनि आफ्नो फेसबुक पेजमा राख्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय