काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि माघ २ गते शुक्रबारदेखि जारी गरेको ८ अर्ब बराबरको आईपीओमा आवेदन दिने आज (माघ ६ गते) अन्तिम दिन हो ।

बैंकले जारी पुँजी २० अर्बको ४० प्रतिशतले साधारण सेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ०.२० प्रतिशत सेयर कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि गत शुक्रबारदेखि बिक्री खुला गरिएको हो ।

बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेभ तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँडपश्चात बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय