काठमाडौं– एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई ब्याज छुट गर्ने योजना ल्याएको छ ।

कोरोना महामारीजन्य विषम परिस्थिति तथा निषेधाज्ञाका काराण ग्रामीण भेगका साना व्यापार, व्यवसाय तथा दैनिक ज्यालादारी मजदुरको नियमित आयआर्जनमा अत्यन्तै प्रतिकूल परेको स्थितिलाई मनन् गर्दै संस्थाले भाखा नाघेका ऋणी सदस्यलाई जेठ मसान्तसम्मको बक्यौता साँवा र ब्याज जेठ ३१ गतेसम्म चुक्ता गरेमा कुल रकमको ८ देखि १५ सम्म छुट दिने योजना ल्याएको जनाएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा समेत आफ्ना ग्राहकलाई ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । सोही आवमा संस्थाले ९ करोड ३३ लाख ०२ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको जनाएको छ ।

कोभिड १९ को कारणले सिर्जित विषम परिस्थितिको सामना गर्न ग्राहकलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको संस्थाले जनाएको छ ।

यसले अघिल्लो महिना पनि भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ वैशाख मसान्तसम्मको सम्पूर्ण बक्यौता भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको बक्यौता कुल ब्याज रकमको १० प्रतिशत छुट गरेको जनाएको छ । सो अनुसार बक्यौता तिर्ने १७९ शाखाका ४,६७६ ऋणी सदस्यले २०७८ वैशाखमा छुटबापत प्राप्त गर्ने रकम १५ लाख १८ हजार २०२ रुपैयाँ ऋणीको बचत खातामा जम्मा गरिसकेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय