काठमाडौं– प्रिन्टिङ, प्याकेजिङ, पेपर, प्लास्टिक र प्रोसेसिङ उद्योगलाई आधार बनाई सञ्चालन गरिएको ‘फाइभ पी नेपाल इन्टरनेसनल एक्स्पो–२०२१’ बुधबारदेखि सुरु भएको छ । तीन दिन चल्ने एक्स्पोको बुधबार एक समारोहबीच भर्चुअल माध्यमबाट उद्घाटन गरिएको नेपाल मुद्रण उद्योग महासंघले जनाएको छ ।

विगत वर्षहरुमा भौतिक रुपमा एक्स्पोको आयोजना गर्ने गरिए पनि यस वर्ष कोभिड १९ को कारण भर्चुअल माध्यमबाट आयोजना गरिएको महासंघले जनाएको छ ।

एक्स्पोको उद्घाटन सत्रमा भारतका उद्योग तथा व्यापार विभागका निर्देशक आलोक मालभिया, नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अभिशेख उपाध्याय, नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतम, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, भारतीय चेम्बर अफ कमर्सका विदेश विभाग अध्यक्ष नविन सर्दना र आयोजक संस्था फ्युचरेक्स ट्रेड एन्ड इभेन्टका म्यानेजिङ डाइरेक्टर प्रेम अनवेशी र सुजल भट्टराई लगायत वक्ताले एक्स्पोको महत्त्वबारे बोलेका थिए ।

उक्त एक्स्पोमा प्रिन्टिङ, प्याकेजिङ, पेपर, प्लास्टिक र प्रोसेसिङ उद्योगसँग सम्बन्धित नेपाल, भारत लगायत विभिन्न देशका उद्योगहरुले आफ्ना उत्पादन तथा प्रविधि प्रदर्शनीमा राखेका छन् । उद्घाटन कै क्रममा करिब एक हजारजनाले भर्चुअल माध्यमबाट प्रदर्शनी अवलोकन गरेको महासंघले जनाएको छ ।

परिवर्तित समय अनुसार विभिन्न उद्योगको क्षेत्रमा समेत प्रविधिको तीव्र रुपमा विकास र परिवर्तनहरु भएकाले उक्त एक्स्पो नयाँ प्रविधिका विषयमा ज्ञान लिन र अनलाइनको माध्यमबाट खरिद तथा बिक्री गर्नका लागि राम्रो अवसरको रुपमा रहेको विश्वास आयोजक तथा सहभागीहरुले गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय