काठमाडौं– गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबार सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए । मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताए । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीको उद्धार, राहत र उपचारमा खेलको भूमिकाका लागि गैरआवासीय नेपाली प्रशंसा गरे । ‘संकटको यस अहम् परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ,’ मन्त्री ज्ञवालीले भने ।

उनले संकटको बीचमा पनि विदेशमा रहेका नेपाली विज्ञहरुलाई नेपालमा जोड्ने प्रयत्न गरेको प्रति खुशी व्यक्त गरे । नेपालको संविधानले पहिलोपटक गैरआवासीय नेपालीलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए । उनले एनआरएनए नेपालको विकासको लागि सहयात्री भएको धारणा राखे । गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टिकोणलाई बाहिर राखेर सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पुँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए । विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उनको भनाइ थियो ।

राजनीतिक लडाइँमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनुपर्ने उनले सुझाए ।

विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुभाए । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनी संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनुपर्ने उहाँको भनाइ छ ।

अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशतको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउन्डसेन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिए ।

विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशील संस्थामा सामान्य विवाद र असहमति हुनु स्वाभाविक रहेको बताए । उनले अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमिति प्रति विशेष धन्यवाद व्यक्त गरे ।

उनले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामाना गर्नुको विल्कप नभएको भन्दै हरेक संकटसँगै अवसर पनि ल्याएको हुने बताए । उनले गैरआवासीय नेपालीहरुले आर्जन गरेको विश्वासलाई कायम राख्न र संघको साख बचाई राख्न सबैलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियान अनुसार सबैलाई संस्थाको चामको लागि एकताको लागि आह्वान गरे । उनले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गरे । भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि जोड दिए ।

कार्यक्रममा शुभकानमा मन्तव्य राख्ने क्रममा गैरआवासीय नेपाली संघका संस्थापक नेता रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीहरुलाई जोड्ने काम गैरआवासीय नेपाली संघले गर्दै आएको स्मरण गराए । उनले संस्थाभित्र मेरो र तेरो भन्ने भावनाले होइन सामूहिक रुपमा हाम्रो भन्ने भावनाले अघि बढ्नु पर्नेमा जोड दिए ।

महाधिवेशनमा संघका सल्लाहकारहरु कुल आचार्य, टिबी कार्की, उपाध्यक्षहरु डा. बद्री केसी, सोनाम लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

भर्चुअल रुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी रहेको संघले जनाएको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न उद्घघाटन सत्रको सञ्चालन संघका महासचिव डा. हेमराज शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय