पोखरा– मुद्रा सटही व्यवसायी संगठन पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित भएका छन् । पोखरामा सम्पन्न संगठनको १५औं साधारणसभा तथा आठौं अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन् । संगठनको उपाध्यक्षम दीपकराज पौडेल, सचिवमा संगीता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल तथा सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सबु श्रेष्ठ र प्रवीण अधिकारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष मिश्रले ‘मनी चेन्जर विनियमावली २०७७’ व्यवसायीमैत्री नभएको र व्यवसायीलाई थप भार पारेको बताए । उनले भने, ‘मुद्रा सटही व्यवसायीलाई पहिला वार्षिक तीन हजार नवीकरण शुल्क लाग्नेमा अहिले तीन वर्षको नवीकरण शुल्क एक लाख बनाइएको छ । यो न्यायोचित छैन, यसको विषयमा आवाज उठाउएर व्यवसायीमैत्री बनाउन पहल गर्नेछु ।’ उनले कोभिड–१९ का कारण थला परेको पर्यटनलाई जीवन्त राख्न सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने पनि बताए ।

यसअघि साधारणसभाको उद्घाटन सत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड–१९ का कारणले मुद्रा सटही व्यवसायी प्रत्यक्ष मारमा परेको बताए । दैनिक १८ घन्टासम्म तयार रहेर सेवा दिइरहेका व्यवसायी अहिले निकै मर्कामा परेको तर अब अब परिस्थिति सामान्य हुने भन्दै विचलित नभई व्यवसायमा लाग्न उनले सुझाए । उनले पर्यटकलाई प्रत्यक्ष सेवा दिने व्यवसायीलाई व्यवसायबाट पलायन हुन नदिन राज्यले आवश्यक पहल गर्नुपर्ने पनि बताए ।

शनिबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक रामकुमार कार्कीले व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ हटाउन समन्वय र सहजीकरण गर्न पहल गरिने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रमा धेरैको लगानी भए पनि लगानीअनुसारको सेवा र सुविधा राज्यबाट पाउन नसकेको गुनासो गरे । सरकार आफैंले ल्याएका नीतिनियम पनि समयमै कार्यान्वयन गर्न नसक्दा यस क्षेत्रका व्यवसायीले निकै समस्या भोग्नुपरेको भन्दै उनले मौद्रिक नीति र व्यवसाय सञ्चालन कोष अविलम्ब कार्यान्वयन गर्न आग्रह गरे । संगठनमा पोखरामा मुद्रा सटही व्यवसायमा संलग्न ४२ कम्पनी सदस्य रहेको निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय