यांगुन– २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिई प्रधानमन्त्री लगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई गृह नजरबन्दमा राखेका थिए । राजाको सोही कदमका कारण नेपालको राजनीतिक इतिमासमा माघ १९ लाई विशेष दिनको रुपमा हेरिन्छ ।

एसियाकै अर्को मुलुक म्यानमारमा पनि माघ १९ अर्थपूर्ण बन्ने भएको छ । त्यहाँका सैनिक शासकहरुले माघ १९ कै साइत पारेर सोमबार सत्ता हातमा लिई सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरेको छ । एनएलडीका प्रवक्ताले सू ची प्रक्राउ परेको पुष्टि गरेका छन् ।

उता सत्ता कब्जा गरेको सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावबीच पुनः अर्को सैन्य ‘कू’ भएको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेको थियो । तर त्यहाँको राजनीतिमा प्रभावशाली सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

म्यानमारमा सन् २०११ सम्म सैन्य शासन थियो । सो बेला सू ची लामो समय गृह नजरबन्दमा थिइन् । सोमबारबाट पहिलोपटक नयाँ संसदको सत्र सुरु हुनुपर्नेमा सेनाले त्यसलाई स्थगित गर्न माग गरेको थियो ।

त्यहाँस्थित बिबिसी संवाददाताले राजधानी लगायत देशका मुख्य सहरहरुमा सैनिकको उपस्थिति बाक्लो रहेको बताएका छन् । समाचार संस्था रोयटर्ससँग टेलिफोन वार्ताएनएलडीका प्रवक्ता म्यो न्युन्टले सू ची र पार्टी अध्यक्ष विन मिन्टलगायत अन्य नेताहरुलाई बिहानै पक्राउ गरिएको जानकारी दिएका छन् ।

सरकारी मिडिया एमआरटिभीले प्राविधिक कारण बताउँदै प्रसारण बन्द गरेको छ भने टेलिफोन र विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको थियो ।
सेनाहरु विभिन्न क्षेत्रका मुख्यमन्त्रीका घरमा पुगेर उनीहरुलाई पक्राउ गरेको परिवारिक स्रोतले जानकारी दिएका छन् ।

शनिबार म्यानमारको सेनाले संविधानअनुसार अघि बढ्ने बताएपछि म्यानमारमा सैनिक ‘कू’ को आशंका बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय