काठमाडौं– पश्चिमी वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।

उच्च हिमाली भूभागमा हिमपात भएको छ । शुक्रबार अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘पश्चिमी वायु सक्रिय नभएकाले ठूलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्र रहेको छ,’ मौसमविद् अर्यालले भने ।

पश्चिमी भूभागमा शुक्रबार ७.८ मिलिमिटर वर्षा भइसकेको बताइएको छ । यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्म रहने र आइतबारदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ ।

देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री र अधिकतम तापक्रम २०.० डिग्री सेल्सियस छ ।

त्यस्तै शुक्रबार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय