कोलम्बो– श्रीलकांली राष्ट्रपतिको सरकारी निवासमा शनिबार प्रदर्शनकारीको घेराबन्दीमा परेको छ ।

प्रहरी अवरोध छिचोलेर ठूलो भिड कोलम्बो फोर्टको चाथाम रोडस्थित राष्ट्रपति निवासमा प्रवेश गरेको स्थानीय अनलाइन डेली मिररले जनाएको छ ।

राष्ट्रपति गोताबाया राजापक्ष भिड अघि बढेको सूचना पाएपछि सरकारी निवासबाट भागेको प्राप्त समाचारमा उल्लेख छ ।

प्रहरीले आक्रोशित भिड रोक्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो । भिडलाई तितरबितर गरी राष्ट्रपति निवासमा प्रवेश गर्नबाट रोक्न गोली पनि चलाएको थियो । तैपनि प्रदर्शनमा उत्रेका सर्वसाधारण गोलीको समेत पर्वाह नगरी प्रहरीको अवरोध छिचोलेर राष्ट्रपति निवास प्रवेश गरेको थियो ।

शनिबारको मुठभेडमा दुई प्रहरी अधिकारीसहित कम्तीमा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

इतिहासकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सर्वसाधारणले संकटको मुख्य कारण शासकहरुलाई मानेका छन् । जसले गर्दा उनीहरुले नेताहरुका निवासमा आक्रमणको शृंखला नै चलाएका छन् । उनीहरुले यसअघि प्रधानमन्त्रीलगायत अन्य नेताहरुको निवासलाई निशाना बनाइसकेका छन् ।

यसैबीच, नयाँ विकसित परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री रनिल विक्रमसिंघेले पार्टी नेताहरुसँग आपतकालीन बैठक गरेका छन् ।

उता, बिबिसीले राष्ट्रपति निवास प्रवेश गरेका प्रदर्शनकारीले निवासभित्रको पौडी पोखरीमा पौडी खेलिरहेको फुटेज देखाएको छ।

प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा मागिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय