काठमाडौं– सरकारले दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार मंगलबारको मन्त्रीस्तरीय निर्णयले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा ५ प्रतिशत वृद्धि गरिएको हो ।

विभागले जारी गरेको सूचना अनुसार यात्रुवाहक र ढुवानी साधन दुवैको भाडा ५ प्रतिशतले बढाइएको छ । यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा अहिले ५५ रुपैयाँले बढेर २३५ रुपैयाँ ८३ पैसा कायम भएको छ । इन्धनको यही मूल्यवृद्धिलाई आधार मानेर सरकारले भाडा बढाएको हो ।

यसअघिको तुलनामा अहिलेको इन्धनको मूल्य ३०.४१ प्रतिशतले बढी हो । इन्धनमा भएको यही मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागको सूचनामा उल्लेख छ ।

यसअघि गत चैत २५ गते केन्द्र सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३ वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाएको थियो ।

त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भर्इ डिजेलमा ५५ रुपैयाँले महँगिएपछि यातायात व्यवसायीले पुनः भाडा समायोजन गर्न माग गरेका थिए । विभागले वैशाख ९ गते मन्त्रालयलाई यात्रुवाहक सवारीको ९.८ प्रतिशत र ढुवानी साधनको हकमा पहाडमा करिब १४ प्रतिशत र तराईमा १२ प्रतिशतका दरले समायोजन गर्न सिफारिस गरेको थियो ।

जवाफमा मन्त्री सुनिल लम्सालले ५ प्रतिशतले वृद्धि गरी भाडा समायोजन गर्न स्वीकृति दिएका हुन् । विद्युतीय सवारी साधनको भाडा भने यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय