वीरगञ्ज (पर्सा)– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा २६ अर्ब १३ करोड रुपैयाँ मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको छ । गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६ अर्ब ९४ करोड अर्थात् ३६.१९ प्रतिशत बढीको आयात भएको हो । जब कि गत आवको ९ महिनामा भने १९ अर्ब १९ करोड रुपैयाँ मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा सवारीसाधन र सोमा प्रयोग हुने पार्टपुर्जाको आयातमा बढोत्तरी भएको बताउनुभयो । चालु आवको नौ महिनामा सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाको आयातबाट मात्रै १८ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जब कि गत आवको सोही अवधिमा भने सवारीसाधन आयातबाट मात्रै १४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आवको ९ महिनामा १ अर्ब १७ करोड मूल्य पर्ने ५९१ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने १ अर्ब ६६ करोड रुपैयाँ मूल्य पर्ने ८०५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । चालु आवको ९ महिनामा ६ अर्ब ४२ करोड रुपैयाँ मूल्य पर्ने ४५ हजार ६२० वटा मोटरसाइकल (अनएसेम्बल्ड) आयात भएको छ । गत आवको ९ महिनामा भने ४ अर्ब ६७ करोड मूल्य पर्ने ३५ हजार ७९९ वटा मोटरसाइकल (अन एसेम्बल्ड) आयात भएको छ ।

त्यस्तै चालु आवको ९ महिनामा २ अर्ब ४ करोड मूल्य पर्ने २१ हजार ६३९ वटा ट्याक्टर तथा टिलर आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने १ अर्ब ३५ करोड रुपैयाँ मूल्य पर्ने १३ हजार ८६१ वटा ट्याक्टर तथा टिलर आयात भएको छ ।

चालु आवको ९ महिनामा २ अर्ब ९८ करोड मूल्यका विद्युतीय सवारीसाधन भित्रिएको छ । गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात १०२ प्रतिशत अर्थात् १ अर्ब ५० करोड बढी आयात भएको हो । गत आवको ९ महिनामा १ अर्ब ४८ करोड मूल्यका विद्युतीय सवारीसाधनको आयात भएको छ ।

चालु आवको ९ महिनामा १ अर्ब ४६ करोड मूल्य पर्ने ४९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ । गत आवको सोही अवधिमा भने ४८ करोड मूल्य पर्ने १७२ वटा विद्युतीय चल्ने जीप, कार र भ्यान आयात भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय