काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारणसभा सुरु भएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उक्त वार्षिक साधारणसभाको मंगलवार उद्घाटन गरेका छन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । उनले आगामी बजेट वस्तुनिष्ठ र कार्यान्वयनमुखी हुनुपर्ने बताए । अध्यक्ष मल्लले भने, ‘बजेट संधै महत्त्वाकांक्षी र ठूलो आकारको बनाउने तर स्रोतको अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्थपरक एवं घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्दछ ।’
आर्थिक गतिविधि विस्तार गरी राजश्व लक्ष्य वृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले करको दर नभई दायरा विस्तार गरेर नागरिकतासँगै प्यान कार्ड दिने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिए पनि आन्तरिकतर्फ सुस्ती कायमै रहेको अध्यक्ष मल्लले बताए । आयातको तुलनामा निर्यात निकै कम हुँदा यो वर्ष पनि व्यापार घाटा उच्च हुने देखिएको अध्यक्ष मल्लको भनाइ छ ।
पुँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पुरा हुनेमा चुनौती रहेको अध्यक्ष मल्लले बताए ।
मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अनिवार्य रहेको उनले उल्लेख गरे ।
तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन तथा सुचना प्रविधिको क्षेत्रका स्वदेशी तथा विदेशी लगानी आर्कषित गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
चेम्बरको ७३औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पुरा गर्न सरकार प्रयासरत रहेको बताए । आर्थिक उन्नतिका लागि निजीक्षेत्रको प्रर्वद्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भीर रहेको उनले बताए ।
पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार एवं व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार रहेको परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।









