काठमाडौं– अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिए पनि व्यावसायिक वातावरण अझै निर्माण हुन सकेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि देखिएको छ । केही सुधारका संकेतहरु देखिए पनि घरजग्गामा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले घरजग्गा कारोबार पहिलेको अवस्थामा आउन नसकेको देखाउँछ । व्यवसायीहरु पनि कारोबार माथि उठ्न नसकेको बताउँछन् ।
गएको एक वर्षको तथ्यांकले घरजग्गा कारोबार केही प्रतिशत बढेको देखाउँछ तर लिखत पारित अपेक्षा अनुसार नभएको विभागका अधिकारी बताउँछन् । २०७९ र २०८० को साउन–वैशाख १५ सम्मको तथ्यांकले कारोबार केही बढेको देखाए पनि सन्तोषजनक छैन । २०७९ साउनदेखि २०८० वैशाख १५ सम्म ९ लाख ४९ हजार आठ लिखत पारित (जग्गा कारोबार) भएका छन् । त्यसबाट २८ अर्ब ९८ करोड ४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
२०८० साउनदेखि २०८१ वैशाख १५ सम्ममा ११ लाख ३९ हजार ११४ वटा घरजग्गा कारोबार भएको छ । त्यसबाट ३४ अर्ब ७ करोड ९७ लाख राजस्व संकलन भएको छ । जग्गा व्यवसायी र विभागका अधिकारीहरु यसमा सन्तुष्ट छैनन् ।
भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता एवं निर्देशक वेदप्रसाद अर्याल भन्छन्, ‘केही बढेको हो तर जसरी कारोबार हुनुपर्ने हो त्यो देखिएको छैन ।’ उहाँका अनुसार यो बीचमा कित्ताकाट नै रोकिएको थियो । जग्गा वर्गीकरणको विषय पनि थियो ।
पछिल्लो समयमा सहकारीको समस्या थपिएपछि सहकारीमा सर्वसाधारणको धेरै पैसा फसेको छ । सहकारी सञ्चालक वा सहकारीका नाममा रहेका घरजग्गा कारोबार हुन सकेको छैन । नागरिकका पैसा पनि सहकारीमा डुबेपछि उनीहरुले पनि लगानी गर्न नसक्दा घरजग्गा कारोबारमा नराम्रो प्रभाव पारेको अर्यालको विश्लेषण छ ।
भूउपयोग नियमावली संशोधन भएर आएपछि र केही आर्थिक सूचकहरु सकारात्मक भएको र राष्ट्र बैंकले घरजग्गा कारोबारमा खुकुलो नीति ल्याएपछि केही सकारात्मक देखिएको अर्याल बताउँछन् । विगतका वर्षहरुमा ६८ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएकाले त्योभन्दा माथि गएपछि मात्र सन्तोष मान्न सकिने अर्याल बताउँछन् । तर अहिलेसम्मको स्थिति हेर्दा आधा मात्रै राजस्व संकलन भइरहेको छ ।
सरकारले पीडा नसुनेको गुनासो
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी मानिसमा विश्वासनीयता नै गुमेकोले बैंकको ब्याजदर घट्दो क्रममा भए पनि घरजग्गा कारोबार सुस्त भएको बताउँछन् । ‘देशको र विश्वव्यापी आर्थिक मन्दीको प्रभाव घर जग्गामा पनि प¥यो,’ अध्यक्ष लोहनी भन्छन्, ‘यस्तो परिस्थितिमा सरकार र राष्ट्र बैंकले अलिकति खुकुलो नीति अवलम्बन गर्नुपर्ने थियो ।’ उनका अनुसार कर्जा आम्दानी अनुपात आवास ऋणको होम लोनको हकमा बढाउनुपर्ने र ऋणको अनुपात पनि बढाउन सके घरजग्गा र आवास कर्जा र कारोबार माथि जान सक्छ ।
कुन आर्थिक वर्षमा कति कारोबार ?
गएको दुई वर्षको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष १ लाख ९० हजार १०६ बढी घरजग्गा कारोबार भएको देखिन्छ । राजस्व अघिल्लो वर्षको तुलनामा ५ अर्ब १० करोड जति बढेको छ । २०७९ साउनदेखि २०८० वैशाख १५ सम्म ९ लाख ४९ हजार आठ वटा लिखत पारित भएका छन् । त्यसबाट २८ अर्ब ९८ करोड ४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
२०८० साउनदेखि २०८१ वैशाख १५ गतेसम्ममा ११ लाख ३९ हजार ११४ घरजग्गा कारोबार भएको छ । त्यसबाट राजस्व ३४ अर्ब ७ करोड ९७ लाख राजस्व संकलन भएको छ ।
चार आवको स्थिति
लिखत पारितका हिसाबले हेर्दा आव २०७६–७७ मा १२ लाख १२ हजार २३०, आव २०७७–७८ मा १७ लाख २८ हजार १४०, आव २०७८–७९ मा १८ लाख १४ हजार ७३९ र आव २०७९–८० मा १३ लाख ३६ हजार ६३३ घरजग्गा कारोबार भएको देखिन्छ ।









