काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि अघिल्लो वर्षको तुलनामा घटाएर राजस्व लक्ष्य तय गरेको छ । आगामी आर्थिक वर्ष २०८१–८२ मा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ ।
गत वर्षको बजेट भाषणमा चालु आर्थिक वर्ष २०८०–८१ मा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । उक्त लक्ष्य अघिल्लो वर्षको तुलनामा १९ अर्ब रुपैयाँले र गतवर्ष संकलित वास्तविक राजस्वको तुलनामा ५२ प्रतिशतले बढी थियो ।
यसपालि भने सरकारले १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्ने लक्ष्य राखेको अर्थमन्त्री वर्षमान पुनल मंगलबार संसद्को संयु्क्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्ने क्रममा बताए ।
सरकारले अघिल्लो वर्षको तुलनामा घटाएर राजस्व लक्ष्य तय गरेको सम्भवतः यो पहिलोपटक हो ।









