काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिर्न लेखेको पत्र बुझ्न निर्मल निवासले इन्कार गरेको छ । पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्केको छ ।
आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली उक्त पत्र बुझाउन निर्मल निवास पुगेको थियो ।
प्रहरीले महानगरले पत्रमा उठाएको विषय पूर्वराजासँग सम्बन्धित नभएको भन्दै गेटबाटै फर्काइदिएको हो । शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।
राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।
उक्त प्रदर्शन पूर्वराजाले नभई राजावादी आन्दोलनकारीले आह्वान गरेकोमा पूर्वराजालाई जरिवानाको पत्र काट्नु महानरपालिकाको स्टन्ट भएको भन्दै कतिपयले यसको आलोचना गरेका छन् ।









