काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधन भएको छ ।

काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । बोहोराका स्वकीय सचिव तारामणि चन्दले पनि उनको निधन भएको पुष्टि गरेका छन् ।

पोस्ट कोभिड समस्याले गर्दा बोहोरा पछिल्लो समय बोल्न नसक्ने अवस्थामा थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको स्रोतको भनाइ छ । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोस्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।

पोस्ट कोभिडकै कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । उनले बोल्न नसक्ने अवस्थामै चुनाव जितेका थिए । संसदमा पनि उनी बोलेनन् । बोहोरा आफ्ना कुरा राप्रपाका अन्य सांसदमार्फत राख्थे ।

पञ्चायतकालमा ५ पटक मन्त्री बनेका बोहोरा गणतन्त्रमा पनि ४ पटक मन्त्री बने । पहिलोपटक उनी २०३८ सालमा पर्यटन राज्यमन्त्री र सोही वर्ष पर्यटन सहायकमन्त्री बने । २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री र २०४४ सालमा निर्माण तथा यातायातमन्त्री बने ।

गणतन्त्रपछि २०६७ सालमा बन तथा भूसंरक्षण मन्त्री बने भने केपी ओली नेतृत्वको सरकारका पालामा २०७२ सालमा श्रम तथा रोजगारमन्त्री, २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा आपूर्तिमन्त्री र शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ मा स्वास्थ्यमन्त्री थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय