काठमाडौं– भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड सर्टिफिकेट (बिआइएस) नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।

भारतले नेपालबाट हुने निकासी रोक्न उक्त प्रमाणपत्र नवीकरणमा आनाकानी गर्दै आएको थियो । नेपालले दुग्धजन्य पदार्थ आयातमा लगाएको प्रतिबन्ध खोल्ने दबाब दिन भारतले बिआइएस प्रमाणपत्र नवीकरणमा आनाकानी गरेको अनुमान गरिँदै आएको थियो । उक्त प्रमाणपत्र नहुँदा नेपालबाट सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, जुत्ता लगायत सामग्रीको भारत निकासी ठप्प भएको थियो ।

भारतले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, जुत्तालगायतका सामग्री निर्यातमा बिआइएस अनिवार्य गरेको छ । भारतले बिआइएस नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । बिआइएस नवीकरणको विषयलाई लिएर नेपालका व्यवसायीले नेपाल सरकारलाई दबाब दिँदै थिए ।

नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार बिआइएस प्राप्त गरेपछि निर्यात सहज हुनेछ । उनले भारतले अहिले बिआइएस नवीकरण गरिरहेको बताए। उनका अनुसार अहिले करिब एक दर्जन उद्योगले बिआइएस नवीकरण गरिसकेको छ ।

केही समयअघि भारत निर्यातका लागि काँकडभिट्टा पुर्याइएका ३४ ट्रक प्लाइउड बिआइएसको अभावमा नाकामै रहेको उहाँले जानकारी दिनुभयो । केही सिमेन्ट कम्पनीले पनि बिआइएस नवीकरण भएपछि भारततर्फ सहज रूपमा सिमेन्ट निर्यात गर्न लागेको जनाइएको छ ।

सो प्रमाणपत्र नवीकरणका लागि एक महिना म्याद अझै बाँकी छ । घिमिरेका अनुसार करिब तीन सिमेन्ट उद्योगले भारतमा निर्यात गरिरहेका र नवीकरण नभएका आधा दर्जन सिमेन्ट उद्योगले एक महिनाभित्र बिआइएस पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय