काठमाडौं– संयुक्त राज्य अमेरिकाले विकाशशील मुलुकहरुमा आर्थिक वृद्धि उकास्न केन्द्रित आफ्नो सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पनि बन्द गर्ने भएको छ ।

संसारकै सबैभन्दा धनी इलोन मस्कले नेतृत्व गरेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डीओजीई) ले संघीय खर्च कटौती गर्ने प्रयासस्वरुप उक्त संस्था बन्द गर्न लागेको विवरण अमेरिकी समाचार संस्था सीएनएनले प्रकाशित गरेको छ ।

मंगलबार एमसीसीका कर्मचारीलाई इमेलमार्फत ‘चाँडै नै ठूलो संख्यामा कर्मचारी र कार्यक्रम कटौती’ हुने जानकारी गराइएको थियो । डीओजीई एमसीसीको कार्यालयमा पुगेको एक सातापछि यस्तो कदम चालिएको उक्त विषयसँग सम्बन्धित स्रोतले सीएनएनलाई जानकारी गराएको हो । ती कर्मचारीलाई ५ मेभन्दा अगाडि नै प्रशासनिक बिदामा राखिन सक्ने स्रोतले बताएको छ ।

स्रोतका अनुसार संस्थाका निमित्त सीईओबाहेक अरु सबै कर्मचारी कटौती गर्ने योजना छ । नेतृत्व गर्ने एकजना हुनैपर्ने कानुनी प्रावधान रहेकोले निमित्त सीईओ भने कटौतीमा नपर्ने बताइएको छ ।

अमेरिकाले यसअघि लामो समयदेखि सञ्चालनमा रहेको सहायता संस्था युएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएड) र युएस इन्स्टिच्युट अफ पिस एन्ड द अफ्रिकन डेभलपमेन्ट बन्द गरिसकेको छ ।

सन् २००४ मा अमेरिकी कंग्रेसले स्थापना गरेको एमसीसीले नेपाल, युक्रेन, एल साल्भाडोर लगायत दर्जनौं विपन्न मुलुकहरुलाई पूर्वाधार विकास र नीतिगत सुधारका लागि अनुदान दिँदै आएको छ । नेपालमा एमसीसीको अनुदान र नेपाल सरकारले बेहोर्ने गरी करीब ७० अर्ब लागत अनुमान गरिएको उच्च भोल्टको सीमापार प्रसारण लाइन र सडक सुधार परियोजना सुरु भएको छ ।

एमसीसी बन्द भएसँगै ठेक्का प्रक्रियामा रहेको प्रसारणको भविष्य के हुने भन्ने अन्योल उत्पन्न भएको छ । नेपाल एक्लैले उक्त परियोजना अगाडि बढाउन सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय