काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अदालतको आदेश कार्यान्वयनको लागि पक्राउ गरेको प्रहरीले बताएको छ ।
अदालतले चौधरीलाई टिकापुर हत्याकाण्डमा दोषी ठहर गरी २० वर्ष जेल सजाय तोकेको थियो । राष्ट्रपतिबाट आममाफी पाएर उनी बीचमै जेलमुक्त भएका थिए ।
प्रहरी स्रोतका अनुसार चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न अदालतले आदेश दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज अधिकारी ९एसएसपी०ले जानकारी दिए ।
कारागारको रेकर्डमा उनले न्यूनतम सजाय भुक्तानी नगरेको पाइएपछि अदालतले त्यस्तो आदेश दिएको उनको भनाइ छ । बाँकी सजाय भुक्तानी गर्न उनलाई कारागार पठाउने प्रहरीको भनाइ छ ।
कति जेल सजाय भुक्तानी गर्न बाँकी छ भन्ने चाहिँ अदालतमा पेश गरेपछि थाहा हुने प्रहरीको भनाइ छ । टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलाई दिइएको आममाफीविरुद्ध तत्कालै सर्वोच्चमा रिट परेको थियो ।
२०७२ भदौ ७ को टीकापुर घटनामा मारिएका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्न चौधरीलाई राष्ट्रपतिले माफी मिनाहा दिनले कानुनी राज्यको धज्जी उडाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।









