काठमाडौं– बुधबारदेखि युद्धमा होमिएका दक्षिण एसियाका आणविक अस्त्र सम्पन्न छिमेकी भारत र पाकिस्तानले युद्धविराम गरेका छन् ।

अमेरिकी मध्यस्थतामा भएको युद्धविराम शनिबार साँझ ५ः०० बजेबाट कार्यान्वयन भइसकेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

बीबीसीले प्रेषित गरेको समााचारमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएको बताएको उल्लेख छ ।

‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ,’ ट्रम्पले सोसल मिडिया ट्रुथ सोसलमा लेखेका छन् । ‘सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेकामा म दुवै देशलाई बधाइ दिन चाहन्छु।’

भारतका विदेशसचिव विक्रम मिसरीले भारत र पाकिस्तान दुवै देशले स्थानीय समयानुसार साँझ ५ बजेदेखि लागू हुने गरी स्थल, हवाई र समुद्री हमला रोकेको पुष्टि गरेका छन्।

उनका अनुसार पाकिस्तानका सैन्य कारबाही मामिलाका महानिर्देशकले उनका भारतीय समकक्षीलाई सम्पर्क गरेका थिए र दुवै पक्षले एकअर्कामाथि हमला नगर्ने सहमति जनाएका थिए।

अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर कुनै तटस्थ स्थानमा विविध विषयमा वार्ता गर्न सहमत भएको बताएका छन् । ‘शान्तिको मार्ग रोजेकोमा हामी प्रधानमन्त्रीद्वय मोदी र शरिफको बुद्धिमत्ता, सावधानी र राजनेताको गुणको प्रशंसा गर्छौं’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।

गत अप्रिल २२ मा भारतीय कस्मिरमा २६ जनाको ज्यान जाने गरी आतंककारी आक्रमण भएपछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाउँदै बुधबारदेखि पाकिस्तानमाथि हमला गरेको थियो । पाकिस्तानले पनि सोको जवाफमा भारतका विभिन्न ठेगानाहरुमा आक्रमण सुरु गरेको थियो ।

भारत र पाकिस्तानबीच युद्ध शुरु भएपछि पाकिस्तान प्रशासित कास्मिरमा आफ्ना सरसामान बाोकेर थातथलो छाड्दै गरेका सर्वसाधारण । तस्बिर : एएफपी/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय