काठमाडौं– संसारकै सबैभन्दा गरिब राष्ट्रपति कहलिएका उरुग्वेका पूर्व राष्ट्रपति होजे मुखिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । उनी सन् २०१० देखि २०१५ सम्म उरुग्वेमा राष्ट्रपति थिए । पूर्वगुरिल्ला मुखिका पेपे उपनामले पनि चिनिन्थे ।
उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले सोसियल मिडिया पोस्टमा मंगलबार उनको निधनको घोषणा गरेका हुन् । मुखिकामा सन् २०२४ मा घाँटीको क्यान्सर पत्ता लागेको थियो ।
‘हामी दुःखका साथ हाम्रा मित्र पेपे मुखिकाको निधन घोषणा गर्दछौं,’ ओर्सीले लेखेका छन्, ‘तपाईंले हामीलाई दिनुभएका हरेक चिज र आफ्ना जनताप्रतिको गहिरो मायाका लागि धन्यवाद ।
मुखिका मुलुकलाई वातावरणीय सुधारको बाटोमा लग्ने, समलिंगी विवाहलाई वैधानिकता दिने र गाँजामा लगाइएको प्रतिबन्ध खुकुलो बनाउने जस्ता सुधारका कारण उरुग्वेभन्दा बाहिर पनि सम्मानित बनेका थिए ।
राष्ट्रपतिकालमा देखाएको सामान्य जीवनशैलीका कारण पनि मुखिका प्रसंसित छन् । राष्ट्रपति हुँदा उनी सुविधासम्पन्न सरकारी निवासमा नबसेर आफूले फूल हुर्काएको फार्महाउसमा बसेका थिए । सन् २०२२ मा उनले अरब क्षेत्रको लोकप्रिय टेलिभिजन च्यानल अल जजिरासँग भनेका थिए– त्यस्तो सम्पत्तिले राष्ट्रपतिहरुलाई जनतासँग सम्बन्ध विच्छेद गराउन सक्छ ।
‘म राजनीतिज्ञले अल्पमत सम्पन्नशाली जस्तो नभएर बहुमत जनताको जस्तै जीवन बाँच्नुपर्छ भन्नेमा विश्वास गर्दछु,’ उनले भनेका थिए ।









