काठमाडौं– नेपाली सेयर बजारको सूचक नेप्से उच्च अंकले बढेको छ । आज नेप्से ४९ दशमलव ०९ अंकले बढेर २ हजार ६७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो । यो १ दशमलव ८६ प्रतिशतको वृद्धि हो ।
आज ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७३ हजार ५४ पटक खरिदबिक्री हुँदा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिनको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ३ दशमलव ४२ प्रतिशतले बढेको छ । बैंकिङ १ दशमलव ९१, विकास बैंक दुई दशमलव ९५, वित्त २ दशमलव ४४, जलविद्युत् २ दशमलव ४५ र लगानी समूह २ दशमलव ३३ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा १ दशमलव ३२, उत्पादन तथा प्रशोधन १ दशमलव ८९, लघुवित्त १ दशमलव १३, म्युचुअल फन्ड ० दशमलव ३३, निर्जीवन बीमा १ दशमलव ७४, व्यापार १ दशमलव ४९ र अन्य समूह ० दशमलव ८४ प्रतिशतले बढेको छ ।
सिन्धु विकास बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ३ दशमलव ०९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ४१ करोड ८० लाख बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको १४ लाख ७२ हजार ३०० कित्ता खरिदबिक्री भएको छ ।









