काठमाडौं– यसपटक सरदरभन्दा बढी वर्षा हुने भएपछि डेंगु संक्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगु संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहाल भन्छन्, ‘गत वर्षको तुलनामा हाल कम संक्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले संक्रमणको जोखिम बढाउने छ ।’

पानी धेरै पर्दा जम्मा हुने पानीमा डेंगु सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । दाहालले पानी संकलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेंगु रोग लाग्ने गरेको छ ।

शाखा प्रमुख डा दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा १ हजार ८१ जनामा संक्रमण देखिएको र पाँच जनाभन्दा बढी संक्रमण भएका ३० स्थानीय तहमा संक्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए ।

सन् २०२४ मा डेंगु सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना संक्रमित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय