काठमाडौं– भारत सरकारले शुक्रबार कच्चा खाद्य तेलमा लाग्दै आएको आधारभूत आयात शुल्क २० प्रतिशतबाट आधा घटाएर १० प्रतिशत कायम गरेको छ ।
भारतको यो कदमले नेपालबाट हुने खानेतेलको निकासी प्रभावित हुनेछ । यो वर्ष वैशाखसम्ममा नेपालबाट अहिलेसम्मकै सबैभन्दा धेरै खानेतेल निकासी भएको थियो । जसले गर्दा १० महिनामै २ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निकासी भएको छ ।
विश्वको सबैभन्दा ठूलो वनस्पति तेल आयातकर्ता भारतले खानेकुराको मूल्य घटाउन र स्थानीय प्रशोधन उद्योगलाई मद्दत गर्न यो कदम चालेको रोयटर्सले जनाएको छ ।
घटाइएको भन्सार शुल्क कच्चा पाम तेल, कच्चा भटमासको तेल र कच्चा सूर्यमुखी तेलमा लागू हुनेछ । यसले यी तीन तेलहरूमा लाग्ने कुल आयात शुल्क २७.५ प्रतिशतबाट घटाएर १६.५ प्रतिशत कायम गर्नेछ, किनकि यसमा भारतको कृषि पूर्वाधार र विकास उपकरण र सामाजिक कल्याण सरचार्ज पनि लाग्छ ।
सल्भेन्ट एक्स्ट्र्यक्टर्स एसोसिएसन अफ इन्डियाका कार्यकारी निर्देशक बीभी मेहता शुल्क कटौतीका कारण स्थानीय बजारमा खानेतेलको मूल्य घट्ने बताउँछन् ।
भारतले कच्चा तेल आयातमा उच्च शुल्क लगाउँदा नेपालबाट साफ्टा सुविधाअन्तर्गत ५ प्रतिशत शुल्कमा भारतमा प्रशोधित तेल आयात हुने हुँदा नेपालले निकासी गर्न पाएको थियो । अब भारतले अन्य मुलुकबाट कच्चा पदार्थ आयात गरी आफ्नै देशमा प्रशोधन गरेको तेल सस्तो पर्ने हुँदा नेपालको निकासी प्रभावित हुने अनुमान गरिएको छ ।
सरकारले प्रशोधित पाम तेल, प्रशोधित भटमासको तेल वा प्रशोधित सूर्यमुखी तेलको आयात शुल्कमा भने कुनै परिवर्तन गरेको छैन, जसमा हाल ३५.७५ प्रतिशत आयात कर लाग्छ । मेहताले प्रशोधित र कच्चा खाने तेलबीचको आयात शुल्कको अन्तर १९.२५ प्रतिशतमा बढेको बताए । यसले आयातकर्तालाई प्रशोधित तेलको सट्टा कच्चा खाद्य तेल आयात गर्न प्रोत्साहित गर्नेछ र स्थानीय प्रशोधन उद्योगलाई बढावा दिनेछ ।
भारतले आफ्नो मुलुकमा आवश्यक पर्ने वनस्पति तेलको ७० प्रतिशतभन्दा बढी माग आयातमार्फत पूरा गर्छ । उसले मुख्यतया इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट पाम तेल किन्छ । अर्जेन्टिना, ब्राजिल, रुस र युक्रेनबाट भटमासको तेल र सूर्यमुखी तेल आयात गर्छ ।
वनस्पति तेल ब्रोकरेज सनविन ग्रुपका सीईओ सन्दीप बाजोरियाले आधारभूत शुल्क कटौतीले खाद्य तेलको मूल्य घटाउने र हालका महिनाहरूमा सुस्त रहेको खुद्रा मागलाई पुनरुत्थान गर्न मद्दत गर्ने बताए ।
तेल निर्यातकै कारण चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा नेपालको कुल निकासी अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशत बढेको थियो ।
यसबाट खुसी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा ‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा दुई खर्ब १८ अर्बको निर्यात भएको छ। अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदैछौं,’ लेखेका थिए ।
भारततर्फ भन्सारमा सहुलियत पाएका बेला निकासी बढेपछि निर्यात ७३ प्रतिशतले बढेको हो । अब भारतले अन्य मुलुकबाट कच्चा तेल आयात गरी प्रशोधन गर्दा सस्तो पर्ने स्थिति तयार भएको छ ।









