अत्तरिया (कैलाली)- जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आर्थिक वर्षको १० महिनामा ५४९ नयाँ उद्योग दर्ता भएका छन् ।

उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार ११२ उत्पादनमूलक, २०४ कृषिमूलक, २ पर्यटनमूलक, २ सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।

जिल्लामा हालसम्म घरेलु तथा साना उद्योग दर्ताको सङ्ख्या १६ हजार ८४६ पुगेको छ । दर्ता भएकामध्ये उत्पादनमूलक ३ हजार ५१८, कृषिमूलक ७ हजार ३६, निर्माणमूलक २, पर्यटनमूलक ६८, सूचना प्रविधका १४ र सेवामूलक ६ हजार २०८ उद्योग रहेका उने बताइन्। चालु आर्थिक वर्षको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी ५३२ वटा फर्म दर्ता भएका छन् ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले २०८० पुस १ गते स्थानीय व्यापारतर्फका हस्तान्तरण गरेका तथा त्यसयता उक्त कार्यालयमा दर्ता भएका गरी वाणिज्यतर्फका फर्मको सङ्ख्या २५ हजार १२७ पुगेका उनले जानकारी दिए।

चालु आवमा २३६ वटा घरेलु तथा साना उद्योग र वाणिज्यतर्फका ३१४ गरी ५५० वटा फर्मको लगतकट्टा गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिइन् ।

कार्यालयले चालु आवको उक्त अवधिमा १ करोड ४६ लाख १ हजार ५७३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

महिला, दलित र अपांगता भएका व्यक्तिलाई नयाँ उद्योग दर्ता,नवीकरणमा छुटको व्यवस्था भएकाले पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ। गत आवमा ७१४ घरेलु तथा साना उद्योग र वाणिज्यतर्फ ३०१ फर्म दर्ता भएका थिए । गत वर्ष कार्यालयले १ करोड ७७ लाख ४४ हजार ७७७ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय