काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ। अन्यको हकमा भने बिगो रकम फरक फरक छ ।
हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको पहिलोपटक हो । त्यसैगरी मन्त्रिपरिषद्को निर्णयमाथि मुद्दा चलेको पनि पहिलोपटक हो ।









