काठमाडौं- ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले १ अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ रुपैयाँ बराबर ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले १९ लाख रुपैयाँ लिएको अख्तियारको दाबी छ ।
आयोगका अनुसार ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजका छोरा अंकित भुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जालमार्फत कुराकानी गरेको पाइएको छ । ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भनिने खुस नसिब अन्सारीसमेत प्रतिवादीसँगको मिलेमतोमा २०८१ भदौ फरकफरक व्यक्तिमार्फत ३ गते ७ लाख र १२ लाख बराबर रकम चेकमार्फत लिएको पाइएको छ ।
आयोगले तत्कालीन अध्यक्ष डा अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
नेपाल बैंकका तत्कालीन अध्यक्ष डा अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी टे«डर्सका सञ्चालकसँग ५० लाख रुपैयाँ घुस माग गरेको पाइएको छ । आयोगले डा अधिकारीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ ।
नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारीविरुद्ध पनि समान ५० लाख बराबरको बिगो माग दाबी गर्दै दोस्रो मुद्दा दायर गरेको छ ।
आयोगले डा अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ । काठमाडौं महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालिको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै ५ लाख रुपैयाँ घुस लिएको पाइएको छ । आयोगले डा अधिकारी, रमेश आचार्यविरुद्ध ५ लाख बराबरको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो ।
आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको २०४६ वैशाख १९ गतेदेखि २०७८ फाुगन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो । सो अवधिमा कोइरीको वैध आय ३ करोड ३७ लाख ७९ हजार ४०० रहेको थियो ।
कोइरीले ७ करोड ९६ लाख ७६ हजार ८०४ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले गरेको परीक्षणबाट ४ करोड ५८ लाख ९७ हजार ४०३ बराबरको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ ।
इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती मालाकुमारी महतोका नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ । आयोगले इञ्जिनियर रामबाबु र उनकी श्रीमती मालाकुमारीविरुद्ध बिगोबमोजिमको काराबाहीको माग गर्दै मुद्दा दायर गरेको छ ।









