काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् निर्यात सुरु गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेश विद्युत् निर्यात गरेको थियो । गतवर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटसम्म भारतीय प्रसारण लाइन हुँदै बंगलादेशमा विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो ‘सिजन’को अन्तिम दिन कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म विद्युत् निर्यात भएको थियो ।

बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात बाट मासिक २५ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जानकारी दिएको छ ।

बंगलादेशमा आगामी नोभेम्बर १५ सम्म बिजुली निर्यात हुनेछ । पाँच महीनामा १४ करोड ६८ लाख ८० हजार युनिट निर्यात हुनेछ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफ्फरपुर, बेहरामपुर हुँदै बंगलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ ।

पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले नेपाल भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गरिएको बताए । आगामी दिनमा बढीभन्दा बढी विद्युत् बंगलादेश निर्यात गर्नका लागि छलफल भइरहेको पनि उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अहिले लोडसेडिङ नभएको र हुँदा पनि नहुने दाबी गर्दै उत्पादित बिजुली बढी भएरै विक्री सुरु गरिएको बताए । ट्रिपिङको समस्या कहिलेकाहीँ देखिएर झ्याप झ्याप बत्ती जाने गरे पनि यसलाई हटाउँदै लगिएको उनले दाबी गरे ।

नेपालले जुन १ देखि हरियाणा राज्यमा १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएकामा आइतबार अर्थात् जुन १५ बाट बढाएर २०० मेगावाट बिक्री गरेको छ । त्यस्तै बिहारमा पनि ८० मेगावाट विद्युत् आइतबारदेखि निर्यात गर्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय