अर्घाखाँची– पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधन भएको छ । काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा उनको आज बिहान ४ः०० बजे ९० वर्षको उमेरमा निधन भएको हो ।
अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ (हाल भूमिकास्थान नगरपालिका–८), निमडाँडामा खेमराज पौडेल र सावित्रा पौडेलका जेठो सन्तानका रूपमा १९९३ सालमा उनको जन्म भएको थियो । समाजवादी चिन्तक शास्त्रीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनकी एक श्रीमतीको यसअघि नै निधन भइसकेको छ । उनका छोराहरु देश बाहिर रहेकाले उनीहरु आएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
शास्त्री २०१० सालमा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दा नेपाली कांग्रेसको राजनीतिमा जोडिएका थिए । उनले पढाइ पूरा भएपछि पार्टीका तर्फबाट भूमिगत राजनीति गरे । २०१४ मा नेपाली कांग्रेसले सुरु गरिको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै उनले पाल्पाको तानसेनमा भाग लिएका थिए ।
२०१५ सालको आम निर्वाचनमा सक्रिय रूपमा लाग्नुभएका उनी २०१७ पुस १ गते राजा महेन्द्रले संसद् भंग गरी नेताहरुलाई जेल हालेको समयमा गुल्मी र अर्घाखाँचीका युवालाई क्रान्तिमा संलग्न गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०१७ सालपछि उनी भारतमा निर्वासित जीवन बिताइरहेका थिए । शास्त्रीले तत्कालीन समयमा भारतको गोरखपुरमा गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराएका थिए । उनी गोरखपुरमा छँदा प्रजातन्त्रको लडाइँका लागि पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाउँथे ।
बिपी कोइरालाका कट्टर अनुयायी शास्त्री समाजवादका व्याख्याता थिए । भूमिगत रूपमा अर्घाखाँची र गुल्मीलगायतका जिल्लामा नेपाली कांग्रेसको संगठन विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेका उनले २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।
२०४६ सालको जनआन्दोलनपछि भएको २०४८ सालको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट सांसदमा भारी मतले विजयी हुनाका साथै उद्योगमन्त्री बनेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा पनि विजयी भएका थिए । त्यसपछिका निर्वाचनमा पार्टीले समानुपातिक सांसद बन्न गरेको आग्रह अस्वीकार गरेका थिए ।
–––









