वीरगन्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाका भएर १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

यो गत आर्थिक वर्षको ११ महिनाको तुलनामा १ अर्ब ६ करोड रुपैयाँले कम हो । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशतले बढेको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु वर्षको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ ।

चालु वर्षको ११ महिनामा ५ थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड राजस्व संकलन गरेको छ । गत वर्ष सोही अवधिमा यसबाट ६५ अर्ब ५४ करोड रुपैयाँ मात्र संकलन भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड रुपैयाँको १० लाख ३० हजार २५३ किलोलिटर डिजेल र ३५ अर्ब ३४ करोडको ४ लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ ।

११ महिनामा एपिजी ग्यास ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम आयात भएको छ । गत वर्ष २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।

हवाई इन्धन १ लाख ६७ हजार ३९८ किलोलिटर आयात भएको छ । गत वर्ष ११ महिनामा १७ अर्ब ११ करोड मूल्यको १ लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको थियो ।

यो नाकाबाट चालु आर्थिक वर्षको जेठसम्ममा ५९ करोड मूल्य पर्ने ६ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ । गत वर्षको मट्टितेल आयात ६ हजार १२० किलोलिटर थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय