वीरगन्ज- वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्ब्ल्ड मोटरसाइकलदेखि क्रेन लहरीसम्मका ५९ हजार ४७४ सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट १५ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आवको ११ महिनामा ५ अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्बल्ड मोटरसाइकल आयातबाट ५ अर्ब ५१ करोड राजस्व संकलन भएको छ भने २ अर्ब ६३ करोड मूल्यका १ हजार ३०७ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यस्तै सोही अवधिमा १ अर्ब ८० करोडका ८३९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् ।
त्यसैगरी, चालु आवको ११ महिनामा १ अर्ब १६ करोड मूल्य पर्ने ५ हजार २२० ट्र्याक्टर तथा टिलर आयात भएका छन् । सोही अवधिमा १ अर्ब २ करोड मूल्यका ३७४ वटा बस, ६७ करोड मूल्यका १३१ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् । सोही अवधिमा ६६ करोड मूल्यका २७६ वटा ट्रक, मिनीट्रक आयात भएका छन् ।
सो अवधिमा ३९ करोड मूल्यका ४ हजार १६० वटा तयारी मोटरसाइकल आयात भएका छन् भने सोही अवधिमा रु एक अर्ब ८४ करोड २३ लाखका सानाठूला दुई हजार ३८५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । ती विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब ८४ करोड २७ लाख राजस्व संकलन गरेको जनाएको छ । समग्रमा चालु आवको ११ महिनामा सवारीसाधन र तिनका पार्टपुजा आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।









