भद्रपुर (झापा)- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४०.५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि जेठसम्ममा ३ अर्ब ८६ करोड ६४ लाख ७८ हजार रुपैयाँको चिया निर्यात भएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा १४ हजार ४६३.३३ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा २ अर्ब ७५ करोड २८ लाख ३२ हजारको चिया निर्यात भएको थियो ।
कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म अलैँची निर्यात ३.८० प्रतिशतले घटेको छ । चालु वर्षको ११ महिनामा ७ अर्ब १८ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा ७ अर्ब ४६ करोड ६८ लाख ७६ हजारको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ६७ प्रतिशत, फलामेपाता ९.६, प्लाइउड ११.६० प्रतिशत र मोलासिस निर्यातमा ४००.५० प्रतिशत वृद्धि भएको छ । यसैगरी, सिमेन्ट क्लिंकर १२.६० प्रतिशत, अदुवा ५९.७० प्रतिशत, अम्रिसो १५.२ प्रतिशत र छुर्पी निर्यातमा ७.७ प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु वर्षको ११ महिनामा २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।









