काठमाडौं– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्राडा विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले बुधवार सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पौडेलले आफू र परिवारको नाममा गरी ललितपुर र नवलपरासीमा घरजग्गा, सातओटा कम्पनीको शेयर, ४५ तोला सुन र हिरा तथा बैंक खातामा २० लाख रुपैयाँ मौज्दात रहेको बताएका छन् ।
ललितपुर महानगरपालिका, वडा नम्बर ४ भैंसपाटी र नवलपरासीको गैंडाकोटमा गभर्नर पौडलले श्रीमती प्रतिभाको नाममा घरजग्गा छ । भैंसेपाटीमा ५ आना २ दाम जग्गामा २,७९५ वर्गफिटको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त घर १ करोड ५५ लाख रुपैयाँमा किनेको पौडेलको भनाइ छ । गैंडाकोटको घरजग्गाको मूल्य ६० लाख रुपैयाँ उल्लेख गरिएको छ ।
दुवै सम्पत्ति पैतृक तथा स्वआर्जनबाट किनेको सम्पत्ति विवरणमा उल्लेख छ ।
गभर्नर पौडेलसँग सुन वा सुनको गहना करिब ४५ तोला र १५ लाख रुपैयाँ बराबरको हीरा छ । सुन पैतृक र हिरा आफ्नै कमाइले किनेको विवरणमा उल्लेख छ ।
त्यस्तै आफू, श्रीमती र छोराछोरीको नाममा विभिन्न बैंक खातामा २१ लाख नेपाली रुपैयाँ र ४ हजार ५०० अमेरिकी डलर मौज्दात रहेको पौडेलले विवरणमा उल्लेख गरेका छन् ।
गभर्नर पौडेलले विभिन्न कम्पनीमा लगानी गरेका छन् । उनले आपूm र श्रीमतीको नाममा सातओटा कम्पनीको शेयर खरीद गरेका छन् । उनकी श्रीमतीको नाममा सुजुकी कार छ ।









