काठमाडौं– गृह मन्त्रालयले सधैं जसो विवादमा आइरहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख सहित भर्खरै लोकसेवा पास गरेर आएका ४५ शाखा अधिकृत खटाएको छ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए ।
‘लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीनदिने तालिमपश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ,’ उनले भने, ‘अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आउनुभएका सहसचिव घिमिरे आजदेखि हाजिर भइसक्नुभएको छ ।’ विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सरूवा भएका घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन् ।
केही दिनअघि संघय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ । ‘विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,’ गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, ‘दरबन्दीभन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाउने काम हुन्छ ।’ उनले दरबन्दीअनुसार मात्रै मन्त्रालयले अधिकृतहरू राख्ने बताए ।
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय भिजिट भिसा, सेटिङ लगायत कारणले निकै बदनाम छ ।
यसअघि विमानस्थल अध्यागमन कार्यालयमा जिम्मेवारी पाएका तिर्थ भट्टराई भिजिट भिसामा सेटिङको आरोपमा अख्तियारले छानबिन सुरु गरेपनि निलम्बनमा परेका छन् । उनले दैनिक ५० लाख रुपैयाँसम्म पैसा उठाउने र उक्त रकम गृहमन्त्री रमेश लेखकसम्म पुग्ने गरेको चर्चा छ । यसै विषयलाई लिएर विपक्षीले लेखकको राजीनामा मागिरहेका छन् ।
यही बेला सरकारले अध्यागमनमा सेटिङ लगायत अनियमिततामा अनुभव नभएका र भर्खरै पाएको जागिरलाई धरापमा पारेर अनियमित काममा संलग्न हुन अग्रसर नहुने कर्मचारी खटाएको छ ।









