झापा– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको आत्मकथा ‘महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक २ लाख १८ हजार प्रति बिक्री भएको छ ।
केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा पुनले उक्त जानकारी दिएका हुन्। उनले पुस्तक बिक्रीबाट १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताए । उनको पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ ।
उक्त रकमलाई उनले केन्द्रले सञ्चालन गर्दै आएको वीरगन्जस्थित कृषि औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिए। पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका उनलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ ।
विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ ५० हजार मूल्य बराबरको पुस्तक खरिद गरेको छ । उपप्रमुख पवित्रा महतरा प्रसाईंले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उनको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताइन्।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले वैज्ञानिक महावीर पुनको देशप्रेम र लगनशीलता अनुकरणीय रहेको चर्चा गर्दै उनको पुस्तक किनेर मुलुकलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउनुपर्ने बताए।
विर्तामोड, दमक, बाह्रदशी, विर्तामोड, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उनको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ । विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गरे । ‘देशका लागि आ–आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन ।’
उनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिनुभयो । ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उनले विश्वास व्यक्त गरे ।









