काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ सुरु गरेको छ । प्राधिकरणले चितवनका केही क्षेत्रमा दैनिक ६ घन्टा विद्युत् आपूर्ति बन्द गर्ने तालिका सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार साउन ११ गतेबाट दैनिक दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुनेछ।

प्राधिकरणको चनौली वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशबाट पानी नपरेकाले सिँचाइ ग्राहकले बढी विद्युत् खपत गर्दा लोड बढेकोले लोडसेडिङ गर्नु परेको प्राधिकरणको भनाइ छ ।

चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

चनौली वितरण केन्द्र अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानको लागि लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।

भरतपुर १३२ र ३३ केभी सब स्टेसनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर अचेल बिजुलीको माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाको भनाइ छ । विद्युत लोड व्यवस्थापनमा आएको समस्या बुधबारसम्म हल हुने पनि प्राधिकरणको भनाइ छ ।

लोडसेडिङ बिहान ठाउँ अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्म हुने बताइएको छ ।

नारायणी–माडी फिडर अन्तर्गतका क्षेत्रमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म लोडसेडिङ हुनेछ । त्यसैगरी, मेघौली–विजयनगर–शुक्रनगर फिडर अन्तर्गत बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म लोडसेडिङ हुनेछ।

जगतपुर–रामपुर फिडर अन्तर्गतका स्थानमा दिउँसो १२ देखि ३ र बेलुका ९ देखि १२ बजेसम्म लोडसेडिङ गर्ने तालिका प्राधिकरणले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय