रसुवा– नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले १० मिटर चौडाइ र १०० मिटर लम्बाइको पुल बगाएको थियो । चीन सरकारले पुल पुनर्निर्माण थालनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
उनका अनुसार नेपाल र चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालेको छ । यसका लागि भुइँ सतह मिलाउन सुरु भइसकेको छ ।
पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटरको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ ।
बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि पौडेलले जानकारी दिए। रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।









