काठमाडौं- नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन)को नेतृत्व नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् ।

काठमाडौंमा हालै सम्पन्न एचसीसीएनको १८ औं साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनिजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डिन चयन गरेको हो । थापाले सन् २०२५-२६ अवधिका लागि एचसीसीएनको नेतृत्व सम्हाल्ने छन् ।

एचसीसीएनको निवर्तमान डिनमा इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल रहेका छन् भने भाइस डिनमा फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य, कोषाध्यक्षमा रोमानियाका अवैतनिक महावाणिज्यदूत नारायण बजाज रहेका छन् ।

एचसीसीएन कार्यकारिणी समिति सदस्यहरुमा स्लोभाक रिपब्लिकका अवैतनिक वाणिज्यदूत पासाङ्ग दावा शेर्पा, भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ, इटालीका अवैतनिक महावाणिज्यदूत प्रतिमा राणा पाण्डे, हंगेरीका अवैतनिक महावाणिज्यदूत अरूण चौधरी र पेरुका अवैतनिक वाणिज्यदूत सुमित कुमार अग्रवाल निर्वाचित भएका छन् । एचसीसीएन कार्यकारिणी समितिमा आइसल्याण्डका अवैतनिक वाणिज्यदूत विदुषी राणा आमन्त्रित सदस्य रहेको घोषणा गरिएको छ ।

नवनिर्वाचित डिन थापाले आगामी वर्षका लागि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दै आर्थिक कूटनीतिका संवाहक वाणिज्य दूतहरुको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी वर्षका लागि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दै थापाले नेपाल सरकार र सम्बन्धित मुलुकसँग सहकार्य गरेर अघि बढ्ने जनाए । साधारणसभामा परराष्ट्र मन्त्री डा. आरजु राणा, आर्थिक कुटनीति विषयका मुख्य टिप्पणीकार पूर्व परराष्ट्र सचिव एवं पूर्व राजदूत ज्ञानचन्द्र आचार्य निवर्तमान डिन चन्द्रप्रसाद ढकाललगायत सन् २०२४-२०२५ का लागि कार्यकारी समितिका सदस्यहरूले पुर्याएको योगदानको लागि उनले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय