चितवन– उद्योग तथा वाणिज्य कार्यालय चितवनमा दर्ता भएका ३८३ वटा उद्योग एक वर्षमा बन्द भएका छन् ।
कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार बन्द भएका उद्योगमा सबैभन्दा बढी कृषिमूलक छन् । ती उद्योग १९९ वटा बन्द भएका छन् ।
उत्पादनमूलक ७४, सेवामूलक ७४ र पर्यटनमूलक ३६ उद्योग बन्द भएको उनले जानकारी दिए । कुमालका अनुसार सोही अवधिमा ३३१ वटा नयाँ उद्योग दर्ता भएका छन् । यस अवधिमा कृषिमूलक १४०, सेवामूलक ११४, उत्पादनमूलक ६२, पर्यटनमूलक १५ उद्योग थपिएका छन् ।
जिल्लामा रहेका उद्योगमध्ये २ हजार ३९० उद्योग नवीकरण भएका छन् । जसमध्ये ११८ वटाले पुँजी वृद्धि गरेका छन् भने ८ वटाले स्तर परिवर्तन गरेका छन् ।
वाणिज्यतर्फ ५२४ वटा व्यवसाय बन्द भएको उनले जानकारी दिए । वाणिज्यतर्फ ३७७ व्यवसाय नयाँ दर्ता भएर सञ्चालनमा छन् । ३ हजार १११ व्यवसाय नवीकरण भएको उनले बताए । कुमालका अनुसार २०३ वटा व्यवसायीले पुँजी वृद्धि गरेका छन् भने ३४ वटाले उद्देश्य थपेका छन् ।
उच्च शिक्षाका लागि विदेश जानेको संख्या बढेसँगै उद्योग तथा व्यवसाय दर्ता गर्ने र बन्द गर्ने प्रचलन बढेको उनले बताए । उद्योग बन्द गर्न ५ वर्ष अवधि पर्खिनुपर्ने भएकाले पनि बन्द गर्ने प्रचलन बढेको उनले बताए ।









