काठमाडौं– नेपालका लागि सेग्वे–नाइनबोटको अधिकृत वितरक आइहब प्रालिले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँच दिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँ मोडेल प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार यसपटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कूटर (ई१५० एमके२ र ई१२५ एमके२), एक ई–बाइक (जाइबर) र एक ई–साइकल (जाफारी)) समावेश छन् । यी मोडेलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।

‘सेग्वे ई१५० एमके२’ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ र ७५ देखि १२० किलोमिटरसम्म यात्रा गर्न सक्छ । ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० किलोमिटर प्रतिघन्टासम्मको गति लिन सक्छ र ६० देखि १०० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ ।

‘सेग्वे जाइबर ई–बाइक’मा ३००० वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ । यसले अधिकतम ३२ किलोमिटर प्रतिघण्टा गति लिन सक्छ र एकपटकको फुल चार्जले ७७ किलोमिटरसम्म चल्न सक्छ । यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ । ‘सेग्वे जाफारी ई–साइकल’मा ७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ किलोमिटर प्रतिघण्टा गति लिन सक्छ र ५८ किलोमिटरसम्म चल्न सक्छ । साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा कम्पनीले गरेको छ । यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्नेछ, जसले नेपाली यात्रुहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्प उपलब्ध गराउनेछ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भोलिदेखि (अगस्ट ६) सुरु हुँदैछ, र यस वर्षको प्रमुख आकर्षणमध्ये सेग्वेका यी नयाँ मोडेल रहने निश्चित भएको छ । मूल्य र उपलब्धताको जानकारी भने एक्स्पोको क्रममा आधिकारिक रूपमा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय