काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग छिट्टै एकता हुने बताएका छन् ।
सम्वाद डबलीले बुधवार काठमाडौंमा आयोजना गरेको अन्तरसंवादमा गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।
गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिबीचको एकता अत्यावश्यक भएको बताए । ‘अहिले विप्लबजीको पार्टीसँग मात्रै नभएर देश, जनता र समयको मागअनुसार नेकपा (एस)सँग पनि एकताका लागि छलफल चलेको छ,’ गुरुङले भने ।
नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकाले छिटो एकता गर्न सहज हुने भन्दै गुरुङले थपे– समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन कसरी बलियो बनाउने, सदन र सडकसम्म सङ्घर्ष कसरी गर्ने भन्नेलगायत विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्नेछ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर निरन्तर सदन अवरुद्ध गर्दा महत्त्वपूर्ण विधेयक रोकिने भएकाले दुई बुँदे सहमति गरेको विषय स्थायी कमिटीले सही भएको मूल्यांकन गरेको उनले बताए ।
‘कुलिङ पिरियड’ प्रकरणबारे बनेको छानबिन समितिले सही निष्कर्ष निकालेर त्यसलाई सच्याउनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ ।
त्यसैगरी, कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी सुशीलले माओवादीले स्थायी समितिबाट आफ्नो पार्टीसँग एकता गर्ने भन्ने निर्णय स्वागतयोग्य रहेको बताए ।
समाजवादी मोर्चा कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका बुढाथोकीले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा समाजवादी क्रान्तिका लागि माओवादी धार र समाजवादी मोर्चामा आबद्ध पार्टीबीच एकता ध्रुवीकरण हुनुपर्ने धारणा राखे ।









