काँक्रेविहार (सुर्खेत)– आर्थिक वर्ष २०८१–८२ मा कर्णालीबाट ३६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ ।
प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तरराष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ ।
सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ले संकलन गरेर जर्मनीलगायत देशमा निर्यात हुँदै आएको अधिकृत थापाले बताए ।
कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गरिरहेको छ । मन्त्रालयका अनुसार प्रदेश स्थापनाकालदेखि हालसम्म १८ अर्ब ४७ करोड रुपैयाँ कृषि क्षेत्रमा बजेट विनियोजन भएकामा १४ अर्ब बराबर रकम लगानी भइसकेको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा साना सिँचाइ निर्माण तथा मर्मतसम्भार शीर्षकमा ७४७ वटा योजना निर्माण गरेको जानकारी दिएको छ । गत एक वर्षमा ४ हजार ४४ स्याउका बिरुवा १९ हेक्टरमा र २ हजार ८२४ ओखरका बिरुवा २५ हेक्टरमा रोपिएको छ । २० हजार १०० सुन्तला, १५ हजार ४०० कागती, २ हजार ओखर र १ हजार स्याउका बिरुवा रोपिएको छ । खाद्य सुरक्षा कार्यक्रममार्फत १० हजार स्याउ, १ हजार ९५० ओखर, ३ हजार २७० सुन्तला र २ हजार लिचीका बिरुवा रोपिएका छन् ।









