काठमाडौं– गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल २ हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर १२६ जनाको निधन भएको छ । यस्तै ५८५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा ५ हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, सर्पदंशका ७७ घटना घटेका छन् ।
त्यसैगरी, आगलागीका १ हजार ११४, डढेलोका १५८, हुरीबतासका २७७, जनावर आक्रमणका १७२, लेक लागेको ४६, भूकम्पका ५, डुंगा पल्टेका २, असिना हुरी र अन्यका १–१ वटा घटना घटेका छन् ।
प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका ७, बाढी १, पहिरोका ८, अविरल वर्षा ४, जनावर आक्रमणका ३ घटना घटेका छन् । विपद्मा परेर एक जनाको ज्यान गएको छ । अनुमानित क्षति ३८ लाख ४० हजार रुपैयाँ बराबर भएको छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि १४० प्रहरी परिचालन गरिएको छ ।









