काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब २ करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको हो । यो कुल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव २६ प्रतिशत अर्थात् १४ खर्ब २ अर्ब ४७ करोड ६५ लाख छ भने आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ७४ प्रतिशत रहेको छ । चालु आवका लागि सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण उठाइसकेको कार्यालयले जनाएको छ ।
वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७ दशमलव ४८ प्रतिशत बराबर रहेको जनाइएको छ । आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा पहिलो महिना ११ दशमलव ०५ प्रतिशत (४० अर्ब रुपैयाँ) ऋण उठाइएको हो । बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकामा साउनमा १ दशमलव ९६ प्रतिशत (४ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ) ऋण उठाइएको कार्यालयले जनाएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकामा साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि छुट्याइएको बजेट ८ दशमलव ९३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।









