काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न ९ सडकमा आवतजावत अवरुद्ध भएको छ। सडक विभागद्वारा जारी सूचनाअनुसार १५१ सडक खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
सूचना अनुसार मुलुकभरका ३७१ सडक खण्डमध्ये २११ खण्ड पूर्ण खुलेका छन् । सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मतकार्य लगायत कारण सडक अवरुद्ध भएको जानकारी दिए। उनले भने, ‘कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारण मर्मत गरेर सडक सुचारु हुन सकेको छैन । कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।’
विभागका अनुसार यही असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी,त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अझैसम्म पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ ।
पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको विभागको सूचनामा उल्लेख छ । यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडक खण्ड अवरुद्ध भएको विभागले जनाएको छ ।
तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ । विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोरअन्तर्गत छिन्चु–मरिम सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ ।
‘रोल्पाको सहिद राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ । निरन्तरको वर्षापछि पहिरो खसिरहेकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ,’ विभागको सूचनामा भनिएको छ, ‘दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडक खण्ड समेत लगातार सुक्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो सुचारु हुने काम भइरहेको छ । यसैगरी अरनिको राजमार्गको सिन्धुपालचोकस्थित खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।’









