काठमाडौं– नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेडबीच हरित हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गा वू पार्कले बिहीवार हस्ताक्षर गरे । उक्त समझदारीअनुसार प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करीब १० महिनाभित्रमा लगानी बोर्डको कार्यालयमा पेस गर्नेछ । लगानी बोर्डका अनुसार अध्ययन प्लान्ट स्थापनाका लागि ७ अर्ब रुपैयाँ लगानी हुनेछ । कम्पनीले प्रारम्भिक चरणमा २० मेगावाट क्षमताको ग्रिन हाइड्रोजन उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसप्रकारको परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्त्वपूर्ण भूमिका रहने तथा यस्ता परियोजनाले नेपालजस्तो राष्ट्रमा पुँजी तथा प्रविधिको विनिमयमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रस्तावक कम्पनीले निर्दिष्ट समयमै गुणस्तरीय प्रतिवेदन पेस गर्ने विश्वास व्यक्त गर्दै उहाँले अध्ययनपश्चात् यथाशक्य छिटो नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गरे ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा यसप्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको औँल्याउँदै यस्ता परियोजनाले नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्यको प्राप्तिमा कोसेढुंगा सावित हुने बताए । उनले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

ग्रिन हाइड्रोजनको अध्ययन तथा अनुसन्धानमा क्रियाशील काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ता डा विराजसिंह थापाले नेपालमा यसको सम्बन्धमा मौजुदा नीतिगत तथा कानुनी व्यवस्था, यसका बहुआयामिक लाभका विषय तथा आगामी दिनमा यसप्रकारका ऊर्जाको उपयोगका सम्बन्धमा आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय