काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफूकहाँ सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ ।
मन्त्रालयमा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि उक्त निर्णय लिइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सरकारले नेपालमा चलिरहेका सामाजिक सञ्जालहरुलाई सञ्चार मन्त्रालयमा सूचीकृत हुन बुधबारसम्म समय दिएको थियो । नेपालमा चलिरहेका फेसबुक, लिंक्डइन, युट्युब, एक्स लगायतका सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरु उक्त समयसीमाभित्र दर्ता हुन नआएको मन्त्रालयको भनाइ छ ।
बैठकमा सहभागी एक अधिकारीले मन्त्रालयमा सूचीकृत नभएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय भएको बताए । आजै रातिदेखि लागू हुने गरी मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जाल नेपालमा नचल्ने बनाउने निर्णय गरेको मन्त्रालय स्रोतको भनाइ छ ।
मन्त्रालयले सूचीकृत नभएका सामाजिक सञ्जालहरुलाई निष्क्रिय बनाए पनि उनीहरु सूचीकृत हुन आएको खण्डमा पुनः खुला गर्ने नीति लिएको छ ।










